विराटनगर / प्रेमिकाको विषयमा विवाद भएपछि ‘ग्याङफाइट’का लागि हिँडेको १५ जनाको समूहलाई प्रहरीले विराटनगर– ९ घोघापुल चोकबाट पक्राउ गरेको छ ।
आज दिउँसो घरेलु हतियारसहित ग्याङफाइटका लागि आएको समूहलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये ९ जना १८ वर्ष मुनिका छन् ।
‘ग्याङफाइट’का लागि हतियार बोकेर हिँड्ने मोरङको कटहरी गाउँपालिका–४ का १८ वर्षीय शेखकवि अली, सुनसरीको बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, १९ वर्षीय राहुल दास, ललनकुमार मेहता, सञ्जय मेहता र प्रेम चौधरी पक्राउ परेका छन् ।
पक्राउ परेका अन्य बालक पनि बर्जु गाउँपालिका– ६ कै हुन् । पक्राउ परेका शेखको साथबाट तरबार बरामद भएको थियो । उनी मुख्य योजनाकार भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए ।
‘प्रेमिकाको विषयलाई लिएर यसअघि पनि दुई पक्षबीच विवाद भएको देखियो,’ उनले भने,‘विवादकै कारण आज ‘ग्याङफाइट’को योजना बनाएको पाइयो ।’ ‘ग्याङफाइट’को तयारीमा रहेका केही फरार रहेको उनले बताए । पक्राउ परेका अन्य १२ जना नावलाक रहेकोले प्रहरीले अन्यको नाम गोप्य राखेको छ ।
पक्राउ परेका अलिको साथबाट प्रहरीले तरवाल फेला पारेको हो । उनीहरूको साथबाट प्रहरीले खुँडा, लाडी र नखलगायतका हातहतियार बरामद गरेको छ । पक्राउ परेका अलिको समूह विराटनगरको घोगा पुल चोकमा जम्मा भएर दुई वटा सिटीमा ग्याङ फाइट गर्ने उद्देश्यले शान्ति चोक जान भनेर हिँडेका थिए । ‘उक्त सूचना प्रहरीले बेलैमा जानकारी पायो । मोरङ प्रहरीबाट टोली परिचालन भयो र उनीहरूको साथबाट हातहतियारसहित पक्राउ गर्न सफल भयो । आज हुनसक्ने ठुलो दुर्घटना प्रहरीले रोक्न सफल भएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले भने ।
पक्राउ परेका १५ जनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उनले बताए । ‘अहिले घटनाको अनुसन्धान गर्दै आएका छौँ,’ डिएसपी दाहालले भने, ‘अर्को समूहको को रहेछ । त्यसको पनि पहिचान गर्ने काम भइरहेको छ ।
यस समाचार खबर पुर्वान्चल अनलाइन पत्रिका वाट लिएको हाे ।