विराटनगर / नवरात्रको पहिलो दिन आईतवार घरघरमा विधिपूर्वक पूजा–आजागरी घटस्थापना राख्ने भएका छन् । घटस्थापनाको दिन विधिपूर्वक नवदूर्गा खडा गर्ने, त्यसैमा जमरा राख्ने र नित्य १० दिनसम्म पूजा गर्नको लागि छुट्टै किसिमको दशैंघरको रूपमा विकास गर्ने गरिन्छ ।
घटस्थापनामा नौ वटा शुद्ध पातबाट बनेको बोहोतामा शुद्ध माटो राखेर त्यसमा जौ, धान, मकै जस्ता अन्न छरिन्छ । यी सबै विधि सुरु हुनुपूर्व दशैंघरलाई नै शुद्ध बनाउनुपर्छ । जमरामा जौ सबै क्षेत्र र जातिका मान्छेले राख्ने गर्छन् । तर मकै र धान भने केही जातिले राख्छन् धेरैले राख्दैनन् ।
विजयादशमीको दिन पहेँलो जमरा लगाउने गरिन्छ । जमरा पहेँलो होस् भन्नेको लागि नै सूर्यको किरण देखाउनु हुँदैन भन्ने मान्यता छ । त्यो पूजा विधि गोप्य हुने भएकोले पूजारी बाहेक अरूले हेर्न समेत हुँदैन भन्ने मान्यता छ ।
यसरी नौ वटा बोहोतामा चामल र कलश सहित स्थापना गरिएका देवीलाई छुट्टाछुट्टै दिनमा विशेष पूजा गरिन्छ । तोकिएको दिनबाहेक अरु दिन अरूदेवीलाई दूर्गाको परिवारको रुपमा सामान्य पूजा मात्रै गरिन्छ । जस्तो नवरात्रको पहिलोदिन शैलपूत्रीको पूजा हुन्छ । यस दिन अरु देवीको सामान्य पूजा मात्रै हुन्छ भने देवीको यो स्वरुपको विशेष पूजा हुन्छ ।