विराटनगर / विराटनगर स्थित जेएनएल फुटसलमा सम्पन्न भएको यू-१४ फुटसल टुर्नामेन्टको उपाधि डिपिएस एकेडेमीले जितेको छ। सोमबार भएको फाइनल खेलमा डिपिएस एकेडेमीले विराटनगर सिटी फुटबल क्लब (बिसीएफसी)लाई पेनाल्टी सुटआउटमा ३-२ को गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
निर्धारित समयभित्र दुवै टोलीले समान गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै डिपिएस एकेडेमीले नगद ५००० रुपैयाँ, ट्रफी, र मेडल जित्न सफल भयो। उपविजेता बिसीएफसीले नगद २००० रुपैयाँ, ट्रफी, र मेडल प्राप्त गर्यो।
प्रतियोगितामा ८ वटा टिमले सहभागीता जनाएका थिए, जसमा बिसीएफसी, रानी आँखा, डिपिएस एकेडेमी, जेएनएल, जनपथ एकेडेमी, नवयुवा क्लब, गोल्डेन स्टार जुनियर, र बुडीगंगा स्पोर्ट्स क्लब समावेश थिए। प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको उपाधि अस्मिन बस्नेतले प्राप्त गरे भने सर्वोत्कृष्ट खेलाडीको उपाधि अमन दाँहाले जिते। कार्यक्रमका प्रमुख अतिथि, एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाले विजेता र उपविजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए।
नेपालमा फुटसलको इतिहास नयाँ भए पनि यसले युवा फुटबलरहरूको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै, जेएनएल फुटसलका सञ्चालक शुभाशिस कोइरालाको कामको प्रशंसा गरियो। जेएनएल फुटसल लामो समयदेखि खेलाडीहरूको विकासमा सक्रिय रहेको र यो स्थान युवाहरूको रोजाइमा पर्दै गएको छ।